Editorial

उपनयन संस्कार र यसको महत्व

संस्काराद्विज उच्चते " मानव जातिका लागि सबै १६ संस्कारहरु महत्त्वपूर्ण छन्, तथापि द्विजत्व प्राप्तिका लागि उपनयन संस्कार अझ बढि महत्त्वपूर्ण मानिन्छ। शब्दको व्युत्पत्तिगत अर्थको हिसाबले हेर्दा आचार्यस्य उप समीपं नीयते येन कर्मणा अर्थात्, गुरुको समीपमा गइन्छ जुन कर्म गरेपछि त्यसलाई उपनयन भनिन्छ । " न ह्यस्मिन् युज्यते कर्म किञ्चिदामोञ्जिबन्धनात् ",जबसम्म उपनयन संस्कार भएको हुँदैन तबसम्म बालकलाई कुनै पनि वैदिक कार्यहरूको अधिकार हुँदैन। त्यसैगरी उसलाई सदाचार, शौचाचार, भक्ष्याभक्ष्यको नियम पालन गर्नुपर्ने बाध्यता पनि मानिँदैन, तर जब उपनयन संस्कार गरिन्छ तब बालक सबै वैदिक कर्महरूको अधिकारी हुनुका साथै सदाचार, शौचाचार, तथा भक्षाभक्षको नियम पनि पालन गर्नुपर्ने हुन्छ । परम्परा अनुसार उपनयन संस्कार पछि बालकले यज्ञोपावित धारण गरेर गुरुबाट दिक्षा प्राप्त गरेपछि गायत्री मन्त्र जप गर्ने तथा वेदादि वैदिक ग्रन्थहरुको अध्ययन पनि सुरू हुन्छ। वास्तवमा व्रतबन्ध धार्मिक विषय मात्र नभएर परम्परा र संस्कारको को विषय हो । यो कर्म ईश्वर प्राप्ति या मोक्ष प्राप्तिका लागि गरिँदैन । यो अनुशासित, मर्यादित जीवनका लागि कार्य गर्ने र सुखी, समृद्ध, विवेकयुक्त चिन्तन तथा व्यवहार गर्ने संकल्प लिने कर्म र त्यसका लागि आयोजित समारोह हो ।

Shastri Shree Amrit Sharan

Kathmandu, Nepal

यज्ञ, पूजा, अनुष्ठान किन गर्ने?

आहार-निद्रा-भय-मैथुनं च, सामान्यमेतत् पशुभिर्नराणाम्। धर्मो हि तेषामधिको विशेषो, धर्मेण हीनाः पशुभिः समानाः।। " अर्थात् खानेकुराको व्यवस्था गर्नु र खानु, निदाउने अर्थात् सुत्ने ठाउँको व्यवस्था गर्नु र सुत्नु, डर मान्नु र डरबाट सुरक्षाको व्यवस्था गर्नु तथा स्त्री पुरुषको संसर्ग गरेर बच्चा जन्माउनु, यी सबै त मान्छेले मात्र होइन पशुहरूले पनि गरिरहेका छन्। धर्म पालना मात्र मानिसमा हुने विशेष गुण हो। यदि धर्मको पालना गरिएन भने मानिस पनि सिङ् पुच्छर नभएको पशु समान नै हुनेछ, त्यसैले मानिसले धर्मको पालन गर्नुपर्छ। धर्मको पालना भन्नासाथ हामीले अनेक प्रकारका नित्य नैमित्तिक यज्ञ अनुष्ठान तथा वैदिक संस्कारहरु सम्पन्न गर्नुपर्ने हुन्छ। संस्कार विना मानिस पशु तुल्य नै हुन्छ। अर्को तिर हामीलाई आवश्यक पर्ने हावा, पानी, सूर्य या चन्द्रमाको प्रकाश आदि प्रकृतिले निःशुल्क उपलब्ध गराउँछ र त्यो प्रकृतिको सञ्चालन भगवानको अध्यक्षतामा विभिन्न देवताहरुद्वारा सम्पन्न हुन्छ। भगवानले गीतामा भन्नुभएको छ, " मयाध्यक्षेण प्रकृति: सूयते सचराचरम् । हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ॥ " त्यसैले हामीले हाम्रा संस्कारहरु गर्नैपर्छ र यी बाहेक पनि देवताहरूको सन्तुष्टिका लागि विभिन्न यज्ञहरु पनि गर्नुपर्ने हुन्छ। "

Pandit Shree Laxman Devkota

Kathmandu, Nepal

पञ्‍चज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताबीचको सम्बन्ध

हाम्रो शरीर पञ्‍चतत्वबाटै बनेको हुन्छ । पञ्‍चतत्वमध्ये पृथ्वीको मात्रा धेरै हुने भएकाले हामी हाम्रो शरीरलाई पार्थिव शरीर पनि भन्ने गर्दछौं । ज्ञान साधनमिन्द्रीयम् ज्ञानेन्द्रीयम् अर्थात् जीवलाई विषयसम्बन्धी बोध गराउने इन्द्रीयलाई ज्ञानेन्द्रीय भनिन्छ । जसलाई हामी पाँच प्रकारले जान्न सक्दछौं आँखा, कान, नाक, जिब्रो र छाला । पदार्थहरूलाई ज्ञान गर्ने भएकाले ज्ञानेन्द्रीयहरूको भूमिका शरीरमा महत्वपूर्ण रहेको हुन्छ ।पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरूको समूहलाई पञ्‍चतत्व भनिन्छ । परम्परामा पाञ्‍चायन देवता भन्नाले ‘गणेशो भाष्करो देवी शिव विष्णुश्च पञ्‍चमः’ भनेर पाँच मुख्य देवताहरूको समूहलाई बुझिन्छ, जसमा विष्णु, शिव, गणेश, देवी र सूर्य पर्दछन् । पञ्‍चेन्द्रीयहरूले पञ्‍चतत्वकै विषयहरूको बोध गर्दछन् भने पाञ्‍चायन देवताहरू पञ्‍चेन्द्रीय र पञ्‍चतत्वकै अधिष्ठातृ देवताको रूपमा रहेका हुन्छन् । पाञ्‍चायन देवताहरूले पाँच इन्द्रीयहरूलाई तत्तत् विषयमा क्रियाशील बनाएर सञ्‍चालन गरेका कारण पञ्‍चेन्द्रीयहरूले आ–आफ्ना विषयको ज्ञान गरेका हुन् । इन्द्रीयत्वको अभावमा इन्द्रीयले कार्य गर्न सक्दैनन् । इन्द्रीयत्व भन्नाले इन्द्रीयमा रहने गुण भन्ने बुझिन्छ ।यसप्रकार पञ्‍च ज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । सृष्टि, स्थिति र लय यी तिनै कार्यमा पाञ्‍चायन देवताको महत्वपूर्ण भूमिका रहेको हुनाले हाम्रा ऋषि, महर्षिहरूले पनि पाञ्‍चायन देवता पूजनमा विशेष महत्व दिएको पाइन्छ ।
-

Shashtri Shree Sandip Sharan

Kathmandu, Nepal